सेन वंशका प्रतापी राजा मणिमुकुन्द सेनले शासन गरेको हुनाले उनै राजाको नामबाट मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर शव्दको अपभ्रंस भई मकवानपुर रहन गएको वा नामाकरण गरिएको भन्ने जनश्रुती प्रचलित छ । मकवानपुर जिल्ला प्रदेश नं. ३ मा अवस्थित रहेको छ । उतरतर्फ करीब ६६ कि.मी. लामो महाभारत श्रृंखला र दक्षिणतर्फ ९२ कि.मी. लामो चुरे पर्वतको काखमा सानो उपत्यकाको झझल्को दिने खालको छ । यो जिल्लामा शिशिर याममा हिमपात हुने २५ सय ८४ मिटरको उच्च भू-भाग सिमभन्ज्याङ्ग र दक्षिणतर्फ समुद्री सतहदेखि १६६ मिटर उचाईको पूर्वी भागमा रहेको बागमती गाउँपालिकाको राईगाउँ, हात्तीढुङ्गाको भौगोलिक बनावटले यस जिल्लाको बिषम प्राकृतिक विविधताको झझल्को दिन्छ । यो जिल्ला प्रदेश नं. २ र प्रदेश नं. ३ समेतका ९ जिल्लासँग सीमाना जोडिएको छ । २,४२६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यो जिल्ला पूर्व साँगुरो हुदै पश्चिमतर्फ बेलुन फुलेझैं फुकेको र नेपाल राज्यको कुल क्षेत्रफलको १.६ प्रतिशत भाग ओगटेको छ । नेपालको पहिलो राजपथ त्रिभुवन राजपथको निर्माणले राजधानीलाई देशको अन्य भू–भागसँग जोड्ने एक मात्र द्वारको रुपमा परिचित यस जिल्लालाई एक समय तराई र पहाड जोड्ने सेतुको रुपमा समेत लिने गरिन्थ्यो । प्रशासकीय दृष्टिकोणले यस जिल्लालाई २ निर्वाचन क्षेत्र, १ उपमहानगरपालिका, १ नगरपालिका र ८ गाउँपालिकामा विभाजन गरिएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडा जसलाई औद्योगिक नगरीका रुपमा पनि चिनिन्छ । २०४३ सालमा हेटौंडालाई जिल्ला सदरमुकाम बनाईएको हो । नेपालको सबै भन्दा बढी तामाङ्ग जातिको बसोबास रहेको यस जिल्लामा ब्राह्मण, क्षेत्री, नेवार, मगर पिछडिएका चेपाङ्ग जाति लगायत अन्य जातिको पनि उल्लेखनीय बसोबास रहेको छ । लोपोन्मुख बनकरीया जातिको बासस्थान हाँडीखोला पनि यसै जिल्लामा पर्दछ ।